कञ्चनरुप, १४ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण वातावरणमा मनाउन जिल्लावासीमा अपिल गरेको छ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा जारी अत्यन्त जरुरी सूचनामा यस वर्षको होली पर्वसँगै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनसमेत नजिकिएकाले निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै जिम्मेवार ढंगले पर्व मनाउन आग्रह गरिएको छ।
सूचनामा ठूलो संख्यामा भीडभाड नगर्न, कसैको इच्छा विपरीत रंग नलगाउन, लोला हान्ने, फोहोर पानी तथा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित गतिविधि नगर्न,नगराउन अनुरोध गरिएको छ। यस्ता गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै नागरिकले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण जिल्लावासीमा सभ्य र शान्तिपूर्ण ढंगले होली पर्व मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरेको छ।












