राजनीति समाचार

सप्तरी प्रशासनद्वारा निर्वाचन अवधिमा सवारी र मदिरामा कडाइ

कञ्चनरुप, १६ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले यही फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सवारी आवागमन तथा मदिरा बिक्री वितरणमा कडाइ गरेको छ।
कार्यालयद्वारा जारी सूचना अनुसार फागुन २१ गते बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। एम्बुलेन्स, दमकल, शववाहन, विद्युत् सेवा, दूरसञ्चार सेवा लगायत अत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न पाइनेछ। अन्य सवारी साधन सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पनि प्रतिबन्ध लगाइएको छ। फाल्गुन १८ गते साँझ ७ बजे देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री बितरण तथा सेवनमा रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सबै सरोकारवाला तथा सर्वसाधारणलाई प्रशासनको सूचनाको पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले सूचनाको उल्लङ्घन गरे प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिनुभएको छ ।

   

You cannot copy content of this page