कञ्चनरुप, २० फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ धरमपुरस्थित धारापानीमा बुधबार जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।
स्थानीय ६९ वर्षीया खड्गमति राई दिउँसो करिब ३ बजे गोठालो गएका बेला एक्कासी आएको हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएको स्थानीयवासीले बताएका छन्।
हात्तीको आक्रमणपछि घाइते राईलाई तत्काल उद्धार गरी धर्मेश्वर अस्पतालमा प्राथमिक उपचार गराइएको थियो। थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
हाल राईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उनका आफन्तका अनुसार खुट्टा र कम्मरमुनि भागमा गम्भीर चोट लागेको छ ।
उक्त हात्तीले स्थानीय एक पसलमा समेत तोडफोड गरी क्षति पुर्याएको बताइएको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् ।










