समाचार

सप्तरी क्षेत्र १ एमाले पार्टी कार्यालयमा शंकास्पद प्रेसर कुकर बम फेला

कञ्चनरूप , २० फागुन । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सप्तरी क्षेत्र नम्बर–१ अन्तर्गत कञ्चनरूप नगरपालिका–९ मा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय नजिकै शंकास्पद वस्तु फेला परेको छ।

पार्टी कार्यालय नजिकै रहेको फुर्वारी रिसोर्ट परिसरभित्र बुधबार राति करिब ८ बजे प्रेसर कुकर बम जस्तो देखिने वस्तु भेटिएको हो। स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र नेपाली सेनाको टोली तत्काल घटनास्थल पुगेको थियो। प्रारम्भिक जाँचका क्रममा प्रेसर कुकरमा तार जडान गरिएको अवस्थामा वस्तु फेला परेको सुरक्षा स्रोतले जनाएको छ।

हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थललाई सुरक्षित बनाउँदै उक्त शंकास्पद वस्तु निष्क्रिय पार्ने कार्य गरिरहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै आसपासका घर तथा व्यवसायिक क्षेत्र खाली गराइएको छ भने सुरक्षा घेरा कडा पारिएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा यस्ता घटना बाहिरिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। सुरक्षा निकायले घटनाबारे विस्तृत अनुसन्धान थालिएको र संलग्न व्यक्तिको खोजी तीव्र बनाइएको जनाएको छ।

आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था थप सुदृढ गरिएको प्रशासनले जानकारी दिएको छ।

यस्तो त्रासदेखी एमाले डराउने बाला छैन यस्ता गतिबिधिलाइ चिरेर एमाले अगाडि बढछ नेकपा एमाले सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार सुमनराज प्याकुरेलले बताउनुभयो ।

   

You cannot copy content of this page