गोरखा, २३ फागुन । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाका एक नेपाली युवकको शव नेपाल ल्याइएको छ।
भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको शव नेपाली दूतावासको पहलमा एयर अरेबियाको उडानमार्फत नेपाल ल्याइएको हो।
नेपाल ल्याइएपछि मृतक श्रेष्ठको शव पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिएको वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिएका छन्।
श्रेष्ठको अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी गत आइतबार निधन भएको थियो।
अबुधाबीमा रहेको मिडिल इस्ट कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत श्रेष्ठ तीन वर्षअघि वैदेशिक रोजगारीका लागि त्यहाँ गएका थिए। गत असोजमा नेपाल आएर पुनः रोजगारीका लागि यूएई फर्किएका उनी परिवारका मुख्य सहारा मानिन्थे।
मृतक श्रेष्ठका बुवा, आमा र एक बहिनी रहेका छन्। रासस














