कञ्चनरुप, २४ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव विजयी भएका छन्। उनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई स्तब्ध तुल्याउँदै उल्लेखनीय जित हात पारेका हुन्।
निर्वाचन परिणाम अनुसार रास्वपाका यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादवले १४ हजार २६३ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित रहे।
यसैगरी जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ९ हजार ८८० मतसहित तेस्रो स्थानमा रहेका छन्।
चौथो स्थानमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंह रहेका छन्। उनले ३ हजार ५५७ मत प्राप्त गरेका छन्। यसअघि सिंह जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई मधेस प्रदेशको मुख्यमन्त्रीसमेत बनेका थिए।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रामकुमार यादवले २ हजार ४९८ मत प्राप्त गरेका छन्।


















