कञ्चनरूप, २४ फागुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्। उनले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव लाई दोब्बर मतान्तरले पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।
आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार चौधरीले ३२ हजार ८७५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन्। यसरी चौधरीले यादवलाई १७ हजार ६३६ मतान्तरले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी नेपाली काँग्रेस का उम्मेदवार दिनेश कुमार यादव ले ८ हजार ४२८ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ताराकान्त चौधरी ले ६ हजार ७१५ मत पाएका छन्।
यसअघि सप्तरी क्षेत्र नम्बर–१ मा पुष्पा कुमारी चौधरी र क्षेत्र नम्बर–४ मा सिताराम साह विजयी भइसकेका छन्। यता क्षेत्र नम्बर–२ मा भने रास्वपाका उम्मेदवार रामजी यादव अग्रस्थानमा रहेको जनाइएको छ।

















