समाचार

१० बर्ष कैद भएका झुम्का कारागारबाट फरार कैदी सिमिउल्ला सप्तरीबाट पक्राउ

कञ्चनरुप, २५ फागुन । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीका अनुसार झुम्का कारागार सुनसरीबाट भागी फरार रहेका जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएका सप्तरी कञ्चनरुप नगरपालिका–६ घोघनपुरका ४४ वर्षीय डोल्ला भनिने सिमिउल्ला मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका–७ बलुवा टोलस्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले मियाँलाई २०८२ फागुन २४ गते बेलुका करिब ७ः३० बजे नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः झुम्का कारागार सुनसरी पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार फरार अभियुक्तलाई पक्राउ गरी कारागार पठाइएको छ।

   

You cannot copy content of this page