कञ्चनरुप, २६ फागुन । सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टु दास पोखरीमा मंगलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज–४ निवासी २५ वर्षीय गजेन्द्र दास रहेका छन् ।
माछा मार्न पोखरीमा पसेका दास डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार बिहान करिब ७ बजे दास माछा मार्न पोखरीमा पसेका थिए ।
पोखरीमा युवक डुबेको खबर पाएलगत्तै नेपाल प्रहरीको गोताखोर टोली, नेपाली सेनाको बरख गण तथा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । सुरक्षाकर्मीले करिब चार घण्टाको प्रयासपछि पोखरीबाट दासको शव बाहिर निकालेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।
सुरक्षाकर्मीको टोलीले खोजी गर्दा दासको शव मृत अवस्थामा फेला परेको उनले बताए । मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पुरीले जानकारी दिए ।
















