कोशी प्रदेश समाचार

ट्रामाडोलसहित फार्मेसी संचालिका पक्राउ, गाँजासहित दुई पक्राउ

विराटनगर, ३० फागुन । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध तथा गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकबाट मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ वर्षीया मोनिका चौधरी पक्राउ परेकी हुन् । उनले सटर भाडामा लिएर सञ्चालन गर्दै आएको ‘शिवमहिमा मेडिकल हल’ फार्मेसीमा प्रतिबन्धित लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा फार्मेसीमा लुकाइछिपाइ राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट बरामद भएपछि चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोरङको विराटनगर–३ बरगाछी चोकबाट भारत अररिया निवासी पृथ्वी कुमार सिंह र कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page