समाचार समाज

सप्तरीमा १ क्वीन्टल  ११ किलो गाँजासहित कञ्चनरूपका २ जना पक्राउ

कञ्चनरूप, १ चैत । इलाका प्रहरी कार्यालय कञ्चनरुपले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका ७ बस्ने ४२ बर्षीय जामुन महतो र सोही स्थानकी २८ बर्षीया कविता कुमारी माझी लागूऔषध गाँजासहित पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार फागुन ३० गते शनिबार साँझ करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले सडकखण्डमा जाँच गर्ने क्रममा सप्तरीको तिरहुत गाउँपालिका २ बडहरामा कंचनपुरदेखि डिमन तर्फ जाँदै गरेको प्र.२–०१–००१ ह ००२२ नम्बरको अटो रिक्सा जाँच गर्ने क्रममा बोरा भित्र लुकाई राखिएको अवस्थामा १ क्विन्टल ११ किलो ८०० ग्राम गाँजा बरामद गरेको जनाएको छ । 

उक्त अटो रिक्सा कञ्चनरूप नगरपालिका–७ सितापुर टोलका ४२ वर्षीय महतोले चलाइरहेका थिए । गाँजा बरामद भएपछि अटो रिक्सा चालक महतोसहित सोही अटोमा सवार २८ वर्षीया माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ परेकाहरूलाई लागूऔषध कसुर मुद्दामा अनुसन्धानका लागि सप्तरी जिल्ला अदालत, राजविराजबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले गरिरहेको जानकारी दिएको छ ।

   

You cannot copy content of this page