विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विद्युतीय अपराध सम्बन्धी मुद्दामा एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल Instagram मा नक्कली आईडी बनाएर अश्लील फोटो तथा भिडियो पोस्ट गर्नुका साथै WhatsApp मार्फत गालीगलौज गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला बस्ने २४ वर्षीय राजकुमार जैसवाल रहेका छन्। उनलाई समन्वयका आधारमा नियन्त्रणमा लिएर विराटनगर महानगरपालिका–१५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्नता पुष्टि भएपछि उनलाई विद्युतीय अपराध मुद्दामा मोरङ जिल्ला अदालत बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।









