समाचार

भोलिदेखि तीन दिन हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

साँकेतिक फोटो
साँकेतिक फोटो

सप्तरी । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा हावाहुरी, वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग को मौसम पूर्वानुमान अनुसार चैत ६ गते शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने बताइएको छ। त्यस्तै, लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लामा पनि प्रभाव पर्ने सम्भावना रहेको जनाइएको छ।
यसैगरी, विराटनगर, धनकुटा, धरानलगायत पूर्वी क्षेत्रका जिल्लामा तीव्र हावाहुरी चल्ने (झण्डै ९९ किलोमिटर प्रतिघण्टासम्म) सम्भावना रहेको प्राधिकरणले जनाएको छ। हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम पनि औँल्याइएको छ।
प्राधिकरणले नागरिकलाई अनावश्यक यात्रा नगर्न, हावाहुरी चल्दा घरभित्रै सुरक्षित रहन, ढोका–झ्याल राम्रोसँग बन्द गर्न तथा आगोका स्रोतहरू सुरक्षित राख्न अनुरोध गरेको छ। साथै, सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन र जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरिएको छ।
हावाहुरीको समयमा बिजुलीका तार, टेलिफोनका खम्बा तथा कमजोर संरचनाबाट टाढा रहन र विद्युत् उपकरण प्रयोग नगर्न समेत सचेत गराइएको छ।
प्राधिकरणले मौसमसम्बन्धी जानकारी नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गरेको छ।

   

You cannot copy content of this page