कञ्चनरुप, १० चैत्र । जिल्ला प्रहरी कार्यालय सप्तरीले सवारी ज्यान मुद्दामा एक जनालाई मंगलबार पक्राउ गरेको जनाएको छ।
सप्तरी जिल्लाको रामपुर मल्हनिया गाउँपालिका–५ स्थायी घर भई हाल हनुमाननगर कंकालिनी नगरपालिका–१४ बस्दै आएका प्रशुराम यादवलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, प्रशुरामले चलाएको स १ त ५०८३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा जितेन्द्र कुमार यादव गम्भीर घाइते भएका थिए। घाइते यादवको उपचारको क्रममा मृत्यु भएको हो।
उक्त घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिई सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ। पक्राउ परेका प्रतिवादीलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।










