कञ्चनरुप, ११ चैत्र । सप्तरी प्रहरीले बुधबार भन्सार छली गरी ल्याइएका कपडासहित २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो ४ः३० बजेको समयमा राजविराज नगरपालिका–२ स्थित राजदेवी चोकमा अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा रहेका मोटरसाइकललाई रोक्न खोज्दा चालकहरू फरार भएका थिए। फरार भएपछि बेवारिसे अवस्थामा छाडिएका मोटरसाइकलहरूमा लोड गरिएको सामान जाँच गर्दा भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका कपडाहरू फेला परेका हुन्।
प्रहरीका अनुसार बा ५९ प २४६१ नम्बरको हिरो कम्पनीको ग्ल्यामर मोटरसाइकल र मे २ प ३११० नम्बरको ग्ल्यामर मोटरसाइकल प्रयोग गरी कपडा ओसारपसार गरिएको थियो। मोटरसाइकलमा बोरा भरी ल्याइएका विभिन्न प्रकारका कपडाहरूको अनुमानित मूल्य करिब ३ लाख २६ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद गरिएको मोटरसाइकल र कपडा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो। प्रहरी नायव उपरीक्षक पुरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको छ।











