कञ्चनरूप, २० चैत । जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई ‘सहयोग’ गर्ने बहानामा लुट मच्चाउने बिचौलियाहरू विरुद्ध कठोर नीति अख्तियार गरेको छ।
पछिल्लो समय सरकारी कार्यालयहरूमा काम छिटो गरिदिने प्रलोभन देखाई सेवाग्राहीबाट अवैध असुली हुने गरेको गुनासो बढेपछि प्रशासनले यो कडा कदम चालेको हो ।
प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै अवैध रूपमा रकम असुल्ने गिरोहलाई कार्यालयको हाताभित्र र आसपासका क्षेत्रमा प्रवेश गर्न समेत पूर्ण प्रतिबन्ध लगाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा स्पष्ट भनिएको छ कि— “सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानूनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कार्यालय वरिपरि र प्रवेशमा निषेध गरिएको छ।”
प्रशासनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू फेला परेमा उनीहरूलाई तुरुन्तै नियन्त्रणमा लिएर प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ। सरकारी सेवालाई पारदर्शी र बिचौलियामुक्त बनाउन यो कदम चालिएको प्रशासनको भनाइ छ।
प्रशासनले आम सेवाग्राहीलाई पनि कुनै पनि कामको लागि बिचौलियाको भर नपर्न र कसैले रकम मागेमा तुरुन्तै प्रशासनमा जानकारी गराउन आग्रह गरेको छ।
यस निर्णयले सर्वसाधारणलाई झन्झटमुक्त र पारदर्शी रूपमा सेवा लिन मद्दत पुग्ने विश्वास लिइएको छ।















