राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार खडक नगरपालिका–७ कल्याणपुरस्थित फूलेश्वर पब्लिक बोर्डिङ स्कुलको छात्रावासमा भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीको प्रेस विज्ञप्तिअनुसार छात्रावासमा बस्दै आएका एक छात्रसँग मोबाइल प्रयोगको विषयमा विद्यालय प्रशासनसँग विवाद भएको थियो । सोही क्रममा मोबाइल खोसेर नदिएको र मानसिक दबाब सिर्जना गरिएको कारण आत्महत्या गर्न बाध्य बनाइएको आरोप रहेको छ ।
घटनापछि फरार रहेका प्रतिवादीहरूलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा विद्यालय सञ्चालक ४५ वर्षीय धिरेन्द्र प्रसाद चौधरी र छात्रावासमा कार्यरत कर्मचारी ४१ वर्षीय भोला मण्डल रहेका छन् ।
उनीहरूविरुद्ध आत्महत्या तथा दुरुत्साहन मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।
हाल इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













