कोशी प्रदेश समाचार समाज

ठूलो परिमाणमा ब्राउन सुगर र विदेशी मुद्रासहित ५ जना पक्राउ

भद्रपुर, २३ चैत । झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर तथा विभिन्न देशका मुद्रासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार दिउँसो लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले संकास्पद अवस्थामा रहेका भद्रपुर–४ का ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय अनमोल गजमेरलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको शरीर तथा साथमा रहेको सामग्री चेकजाँच गर्दा २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर, नेपाली रुपैयाँ ३ लाख २ सय ५०, अमेरिकी डलर ७५, भारतीय रुपैयाँ ५ सय ३०, पाकिस्तानी रुपैयाँ ५० र अस्ट्रेलियन डलर ५ बरामद भएको प्रहरीले जनाएको छ।
यसैबीच, इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले कन्काई नगरपालिका–९ बाट थप तीन जनालाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा देवुलाल राजबंशी, प्रमोद मल्लिक र श्याम चौधरी रहेका छन्।
लागूऔषधसहित पक्राउ परेका सबैमाथि आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page