कञ्चनरुप, २६ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न आपराधिक मुद्दामा संलग्न ३ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार, चोरी र ज्यान मार्ने उद्योग सम्बन्धी तीन छुट्टाछुट्टै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ स्थितबाट बुधबार बोदेबर्साइन नगरपालिका–८ का शिवकुमार साहलाई पक्राउ गरिएको छ । उनले दुई जना व्यक्तिलाई भारततर्फ लैजाने क्रममा संलग्नता रहेको प्रहरीले जनाएको छ। यस मुद्दामा पक्राउ परेका साहलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यस्तै, चोरी मुद्दामा प्रहरीले राजविराज नगरपालिका–४ बाट गणेश कुमार साहलाई नियन्त्रणमा लिइएको छ । उनले राजविराज नगरपालिका–४ की नगमा सहिनको घरमा प्रवेश गरी कोठाको ताला फोडी सुनका गरगहना लगायतका सामान चोरी गरेको आरोप छ। उक्त मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, ज्यान मार्ने उद्योग मुद्दामा तिलाठी कोइलाडी गाउँपालिका–८ बस्ने विजली भन्ने अरुण कुमार देवलाई पक्राउ गरिएको छ। देवले राम प्रसाद यादवमाथि धारिलो हतियार (फलामको रड, खुर्पी लगायत) प्रयोग गरी आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सो घटनामा पनि ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले पक्राउ परेका सबै प्रतिवादीमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।











