सप्तरी । नेपाल आयल निगमले डिजेल, मट्टितेल तथा आन्तरिक हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरिएको हो।
नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ। पेट्रोलको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
मूल्य समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ। दोस्रो वर्गमा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ पुगेको छ।
यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ कायम गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समायोजन गर्नुपरेको उल्लेख गरेको छ।















