सप्तरी । नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) को मूल्य वृद्धि गरेको छ भने केही पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले आजबाट लागू हुने गरी ग्यासको मूल्यमा १ सय ५० रुपैयाँ वृद्धि गरेको जनाएको छ। यससँगै अब पूर्ण सिलिण्डर ग्यासको मूल्य २ हजार १६० रुपैयाँ पुगेको छ भने आधा सिलिण्डरको मूल्य १ हजार ८० रुपैयाँ कायम गरिएको छ।
यसअघि पूर्ण सिलिण्डर ग्यासको मूल्य २ हजार १० रुपैयाँ र आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ थियो।
त्यस्तै, पेट्रोलको मूल्य २ रुपैयाँले घटाइएको छ। मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ कायम भएको छ। यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोल २१९ रुपैयाँमा बिक्री भइरहेको थियो भने सुर्खेत र दाङमा २१८ रुपैयाँ रहेकोमा अब २१६ रुपैयाँ कायम भएको छ।
डिजेल र मट्टितेलको मूल्य पनि १२ रुपैयाँले घटाइएको निगमले जनाएको छ।
यता, हवाइ इन्धनको मूल्य भने बढाइएको छ। निगमका अनुसार आन्तरिक उडानतर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले बढाइएको विज्ञप्तिमा उल्लेख छ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनअनुसार नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ।














