बिराटनगर, २८ वैशाख । वर्षौँदेखि घरेलु हिंसा र पारिवारिक उपेक्षा सहँदै आएकी मोरङ सुन्दरहरैँचा–८ की ४७ वर्षीया अम्बिका कार्कीले अन्ततः न्यायका लागि कानुनी ढोका ढकढक्याएकी छिन्। पतिबाट अपहेलित भएपछि सहाराविहीन बनेकी कार्कीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कानुनी र आर्थिक सारथी बनेर साथ दिएको छ।
विसं २०५८ मा पूर्णबहादुर न्यौपानेसँग सामाजिक परम्पराअनुसार विवाह गरेकी अम्बिकाको जीवन सोचेजस्तो सहज रहेन। पति वैदेशिक रोजगारीमा गएपछि उनी र ११ वर्षीय छोराको गाँस, बास र स्वास्थ्यको पूर्ण उपेक्षा गरियो। घरपरिवार र गाउँका भद्रभलादमीबीच गत वैशाख १० गते भएको छलफलमा समेत पति पूर्णबहादुरले पत्नी र छोराको पालनपोषण नगर्ने र अंश समेत नदिने अडान लिएपछि अम्बिका न्याय खोज्न बाध्य भएकी हुन्।
मानव अधिकार रक्षक सञ्जालका सदस्य एवं पत्रकार बाबुराम भण्डारीमार्फत इन्सेकको सम्पर्कमा पुगेकी अम्बिकालाई इन्सेक कोशी प्रदेश कार्यालयले तत्कालै सहयोगको हात अगाडि बढाएको छ।

जिल्ला अदालतमा मुद्दा दर्ता र अन्य कानुनी प्रक्रियाका लागि इन्सेकले ७ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
वडा कार्यालयको सिफारिसपछि इन्सेकले उनलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै जिल्ला अदालतमा मुद्दा दर्ता गराउन पहल गरेको हो।
इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलका अनुसार, अम्बिकाले आफ्नो र छोराको हकका लागि पतिविरुद्ध मानाचामल र अंश चलनु मुद्दा दर्ता गराएकी छिन्। शुक्रबार अदालतमा उजुरी दर्ता भएसँगै पीडितले न्याय पाउने विश्वास व्यक्त गरेकी छिन्।
घरबाटै तिरस्कृत भएपछि कहाँ जाने भन्ने अन्योलमा थिएँ, इन्सेकको सहयोगले अब न्याय पाउने आशा जागेको छ, अम्बिकाले भावुक हुँदै बताइन्।















