धरान, २८ वैशाख । धरानमा आपसी विवादका क्रममा छुरा प्रहार गरी एक युवकको हत्या गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–१० का २७ वर्षीय जीवन भुजेलको हत्या आरोपमा प्रहरीले धरान–१९ का २८ वर्षीय अर्जुन विश्वकर्मा (जिमी) लाई नियन्त्रणमा लिएको हो।
घटना विवरण अनुसार, वैशाख २७ गते दिउँसो धरानमा उनीहरूबीच सामान्य विवाद भएको थियो। सोही क्रममा अर्जुनले जीवनमाथि छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका भुजेललाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना लगतै फरार भएका अर्जुनको खोजीमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पिट) र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोली खटिएको थियो। विशेष सूचनाका आधारमा प्रहरीले उनलाई मोरङको बेलबारी नगरपालिका–११ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका विश्वकर्मामाथि इलाका प्रहरी कार्यालय धरानले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाएको छ।

















