कञ्चनरुप, १ जेठ । लामो कानुनी झमेला र राजनीतिक गतिरोधलाई चिर्दै सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी पुनः आफ्नो कार्यकारी भूमिकामा फर्किएका छन्। उच्च अदालत जनकपुर राजविराज इजलासले बुधबार उनको पक्षमा ऐतिहासिक फैसला गरेसँगै शुक्रबार चौधरीले गाउँपालिका कार्यालय पुगेर विधिवत् रूपमा आफ्नो पदभार ग्रहण गरेका हुन्।
कार्यालय फर्किएका अध्यक्ष चौधरीलाई प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी प्रशासनले भब्य स्वागत गरेका थिए।
९ महिना लामो विवादको पटाक्षेप :
यो पुनरागमनसँगै गाउँपालिकामा विगत ९ महिनादेखि चल्दै आएको नेतृत्वको अन्योलता अन्त्य भएको छ। झण्डै नौ महिना अगाडि अध्यक्ष चौधरीले राजीनामा दिएको दाबी गर्दै कार्यपालिकाका बहुमत सदस्यहरूले उपाध्यक्ष कल्पना कुमारी चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएका थिए। कार्यपालिकाको उक्त निर्णयविरुद्ध अध्यक्ष चौधरी अदालत गएका थिए।
कार्यपालिकाको निर्णय बदर गर्न माग गर्दै चौधरीले दिएको रिटमा अदालतले सुरुमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
अदालतले मुद्दाको अन्तिम किनारा नलागुन्जेल कार्यपालिकाकै निर्णय मान्य हुने आदेश दिएपछि २०८२ कात्तिक २० गतेदेखि उपाध्यक्ष कल्पना कुमारी चौधरीले कार्यवाहक अध्यक्षको रूपमा गाउँपालिका चलाएकी थिइन्।
पद बहालीको माग गर्दै गरिएका कानुनी बहसहरूको सुनुवाइपछि बुधबार उच्च अदालतले अध्यक्ष चौधरीको पक्षमा अन्तिम फैसला सुनाएको हो।
अदालतको यो फैसलाले चौधरीको पदलाई पुनः स्थापित मात्र गरेको छैन, स्थानीय तहमा कार्यपालिकाको क्षेत्राधिकार र आन्तरिक राजनीतिक खिचातानीमाथि कानुनी नजिर समेत स्थापित गरिदिएको छ।
अध्यक्ष चौधरी पुनः जिम्मेवारीमा फर्किएपछि गाउँपालिकाको कामकाज अब नियमित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।














