कञ्चनरूप, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाको नगर सभापतिमा सुरज पोखरेल सर्वसम्मत चयन भएका छन्।
दुई दिनसम्म चलेको नगर अधिवेशनमा नगर सभापति पदका लागि आकांक्षीहरूबीच लामो समयसम्म रस्साकसी चले पनि अन्तिम चरणमा सहमति जुटेपछि पोखरेललाई सर्वसम्मत सभापति चयन गरिएको हो।
नगर सभापतिका लागि पप्पु गुप्ता आकांक्षी थिए भने सुरज पोखरेल र बैजु गुप्ताले उम्मेदवारी दिएका थिए। नेतृत्व चयनका क्रममा सहमतिको प्रयासलाई निरन्तरता दिइएपछि अन्ततः पोखरेलको नाममा सहमति जुटेको कांग्रेस नेताहरूले बताएका छन्।
अधिवेशनबाट उपसभापतिमा समशिर शेख, सचिवमा अमरेन्द्रकुमार शाह र सहसचिवमा विद्यानन्द मण्डल चयन भएका छन्।
कञ्चनरूप नगरपालिकाका १२ वटै वडामा वडा सभापति तथा वडा कार्यसमिति यसअघि नै चयन भइसकेका थिए। वडा तहको नेतृत्व चयनपछि नगर अधिवेशनमार्फत नगर नेतृत्वसमेत टुंगो लागेसँगै कञ्चनरूपमा कांग्रेसको स्थानीय संगठनात्मक संरचना थप व्यवस्थित भएको छ।
नयाँ नगर नेतृत्वले वडा तहका संगठनबीच समन्वय गर्दै पार्टीका गतिविधिलाई थप सक्रिय बनाउने, संगठन विस्तार गर्ने तथा स्थानीय तहमा कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने जिम्मेवारी पाएको छ।
पोखरेल नगर सभापतिमा सर्वसम्मत चयन भएपछि कञ्चनरूप कांग्रेसको आगामी संगठनात्मक गतिविधि र स्थानीय राजनीतिक भूमिकालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।











