जनकपुरधाम, ७ जेठ । मधेस प्रदेश सरकारमा प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) औपचारिक रूपमा सहभागी हुने भएको छ। केन्द्रमा विकसित नयाँ राजनीतिक सहमति र शीर्ष नेताहरूबीचको छलफलपछि एमाले चार मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुन लागेको हो।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार पार्टीले पहिलो चरणमा आजै एकजना मन्त्रीलाई सरकारमा पठाउने निर्णय गरेको छ। ूहामी चार मन्त्रालयसहित सरकारमा सहभागी हुँदैछौँ, संसदीय दलका नेता यादवले भने, पार्टीभित्रको आन्तरिक तयारी र सहमति अनुसार आजै एकजना नेतालाई विना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइनेछ।
वर्तमान मधेस प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले गरिरहेका छन्। मुख्यमन्त्री यादवले आगामी शुक्रबार (भोलि) प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची तय भइसकेको छ। एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।
संसदीय दलका नेता यादवका अनुसार एमालेका बाँकी मन्त्रीहरूको शपथ र मन्त्रालयको जिम्मेवारी बाँडफाँड भने मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै टुङ्ग्याइनेछ। एमालेको यो सहभागितासँगै मधेस प्रदेश सरकार थप मजबुत हुने र राजनीतिक स्थिरता आउने विश्वास गरिएको छ।
एमाले सरकारमा सामेल भएसँगै मधेसको सत्ता समीकरणमा नयाँ मोड आएको छ। एमालेले पाउने चारवटा मन्त्रालयको नाम र त्यसमा जाने अन्य मन्त्रीहरूको टुङ्गो भोलि मुख्यमन्त्रीले विश्वासको मत लिएलत्तै लाग्ने एमाले स्रोतले जनाएको छ।















