कञ्चनरुप, ८ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकामा धार्मिक उल्लास र भक्तिभावका साथ भव्य कलश यात्रा सम्पन्न भएको छ । कञ्चनरुप नगरपालिका–९ रुपनगरस्थित राजाजी दिवर थान मन्दिरको आयोजनामा शुक्रबार निकालिएको कलश यात्रासँगै पुरुषोत्तम महायज्ञ औपचारिक रूपमा सुरु भएको हो ।
महायज्ञको पूर्वसन्ध्यामा आयोजित कलश यात्रामा महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिकसहित सयौं श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो । रुपनगरबाट सुरु भएको यात्रा विभिन्न टोल तथा बस्तीको परिक्रमा गर्दै वडा नं। ४ स्थित धन्कट्टासम्म पुगेको थियो ।
श्रद्धालुहरूले टाउकोमा पवित्र जलसहितको कलश बोकेर बाजागाजा, भजन–कीर्तन तथा धार्मिक झाँकीसहित यात्रा गरेका थिए । यात्राका क्रममा स्थानीय कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक झाँकीहरूले वातावरणलाई अझ भक्तिमय र आकर्षक बनाएको थियो ।

आयोजक समितिका सक्रिय सदस्य रमेश प्रसाद यादवका अनुसार राजाजी दिवर थान मन्दिर परिसरमा सञ्चालन हुने पुरुषोत्तम महायज्ञ जेठ ८ गतेदेखि सुरु भई जेठ १५ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न स्थानीय स्तरमा व्यापक तयारी गरिएको र छिमेकी जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा श्रद्धालु आउने अपेक्षा गरिएको उनले बताए ।
महायज्ञको प्रमुख वाचकका रूपमा प्रख्यात कथावाचिका प्रशंसा देवी उपाध्याय रहनुभएको छ । उहाँको मुखारविन्दबाट दैनिक रूपमा संगीतबद्ध कथा वाचन तथा धार्मिक प्रवचन प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

आठ दिनसम्म सञ्चालन हुने महायज्ञ अवधिभर विशेष पूजा–आराधना, हवन, भजन–कीर्तन, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । साथै, लाखबत्ती बालेर विशेष आराधना गरिने तथा विभिन्न साधुसन्तहरूको उपस्थितिमा धार्मिक ज्ञान र संस्कारसम्बन्धी प्रवचन समेत हुने जनाइएको छ ।
महायज्ञले स्थानीय क्षेत्रमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव, शान्ति र भाइचाराको भावना मजबुत बनाउने विश्वास आयोजक समितिले लिएको छ।

















