कञ्चनरूप , ९ असोज । अनन्त चतुर्दशीका अवसरमा सप्तरीका विभिन्न शिवालयमा बिहानैदेखि जल चढाउने तथा पूजापाठ गर्ने भक्तजनको घुइँचो लागेको छ।
जिल्लाका प्रमुख धार्मिकस्थलहरू कञ्चनरूपस्थित धर्मेश्वर महादेव मन्दिर धरमपुर , रुपनगरको त्रिमार्ग त्रिपुरेश्वर शिवालय,वलुवाको भजनेश्वर महादेव मन्दिर, शम्भुनाथस्थित प्रसिद्ध शम्भुनाथ मन्दिर तथा राजविराजका विभिन्न शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको हो।
बिहानैदेखि परेको झरीका बाबजुद भक्तजनहरू छाता ओढेर तथा पानीमा भिज्दै शिवालय पुगेर भगवान् शिवलाई जल अर्पण गर्दै पूजाआजा र दर्शन गरिरहेका छन्। अनन्त चतुर्दशीका दिन शिवालयमा जल चढाउँदा मनोकांक्षा पूरा हुने तथा धार्मिक पुण्य प्राप्त हुने जनविश्वासका कारण पनि शिवालयहरूमा भक्तजनको भीड बढेको हो।
यसैबीच कञ्चनरूप नगरपालिका–वलुवास्थित भजनेश्वर महादेव मन्दिरमा विशेष मेला समेत लागेको छ। मेलामा आसपासका क्षेत्रका साथै जिल्लाका विभिन्न स्थानबाट भक्तजन तथा सर्वसाधारणको सहभागिता रहेको छ। मन्दिर परिसरमा पूजापाठ, दर्शन तथा मेलाका कारण बिहानैदेखि चहलपहल बढेको छ।
अनन्त चतुर्दशीलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा मनाउँदै आएका सप्तरीवासीले शिवालयमा पुगेर श्रद्धापूर्वक जल अर्पण गर्ने, पूजा गर्ने तथा दर्शन गर्ने गरेका छन्। वर्षाका बाबजुद शिवालयहरूमा देखिएको भक्तजनको भीडले जिल्लामा पर्वको धार्मिक उत्साहलाई थप उजागर गरेको छ।
अनन्त चतुर्दशीमा सप्तरीका शिवालयमा भक्तजनको घुइँचो













