कञ्चनपुर, ११ जेठ । कञ्चनपुरमा केही दिनयता अत्यधिक गर्मी बढेपछि यहाँका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । बढ्दो तापक्रम र तातो हावाका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि स्थानीय सरकारहरूले पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।
सोमबार छुट्टाछुट्टै सूचना जारी गर्दै जिल्लाका शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाले विद्यालयहरूमा बिदा दिएका छन् ।
शुक्लाफाँटा नगरपालिकाले एक सूचना जारी गर्दै जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने र विद्यालय सञ्चालनमा समेत कठिनाइ उत्पन्न हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी नगरपालिकाले दुई दिन बिदा दिने निर्णय गरेको हो ।
त्यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि तीन दिनसम्मका लागि बिदा दिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए । भीमदत्त नगरपालिकाले पनि एक सूचना जारी गर्दै सोमबारदेखि तीन दिनसम्मका लागि विद्यालय बन्द गरेको छ ।
स्थानीय पालिकाहरूका अनुसार यो बिदालाई पछि हिउँदे वा वर्षे बिदाबाट कट्टी हुने गरी कभर गरिनेछ ।
अत्यधिक गर्मीका कारण विद्यालय जाने बालबालिकाहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । शिक्षकहरूका अनुसार गर्मीकै कारण विद्यार्थीहरूमा तीव्र टाउको दुख्ने, चक्कर लाग्ने, कक्षाकोठामै निदाउने र पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने जस्ता समस्या देखिएका छन् ।
गर्मीका कारण कञ्चनपुरको समग्र जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागले यसअघि नै ‘तातो दिन तथा तातो लहर’ (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै तराईका जिल्लाहरूमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको थियो । मौसम अनुकूल नभएसम्म बालबालिकालाई दिउँसोको समयमा घरबाहिर धेरै निस्कन नदिन र प्रशस्त पानी खुवाउन स्वास्थ्यकर्मीहरूले समेत सुझाव दिएका छन् ।














