सप्तरी । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (Class 12 Board Exam) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बोर्डले एक सूचना जारी गर्दै आगामी २०८३ वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने परीक्षाको समयतालिका यसअघि नै सार्वजनिक गरिसकेको स्मरण गराएको छ। परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुनेछ ।
यस वर्ष देशभरका १,४२१ परीक्षा केन्द्रहरूबाट करिब ४ लाख १८ हजारभन्दा बढी विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन् ।
बोर्डका सदस्य सचिव जङ्ग बहादुर अर्यालद्वारा हस्ताक्षरित अपिलमा परीक्षालाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाहरूसँग सहयोगको माग गरिएको छ। बोर्डले परीक्षा लगत्तै नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको समेत जनाएको छ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवाला निकायलाई बोर्डले अपिल गरेको छ ।













