विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिकामा सरसफाइ तथा सचेतना कार्यक्रम सम्पन्न गरी ३८ औं विश्व वातावरण दिवस (सन् २०२६) मनाएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर गाउँपालिका–३ कप्तानगञ्जस्थित सडक, हटिया, मन्दिर र विद्यालय परिसरमा सरसफाइ गरिएको थियो । इन्सेकद्वारा गठित कोशी प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल, कालिका पब्लिक स्कूलका शिक्षक, विद्यार्थी र स्थानीयवासीको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले पृथ्वीलाई स्वच्छ राख्नु नै सबैको सुरक्षित भविष्य भएको बताउनुभयो । उहाँले जथाभावी फालिएको फोहोर हावा, पानी र खाद्यान्नमा मिसिएर मानव शरीरमा प्रवेश गर्ने र गम्भीर स्वास्थ्य समस्या निम्त्याउने भएकाले यसतर्फ सचेत हुन जरुरी रहेको बताउनुभयो । “वातावरण प्रदूषित भएमा मानव जीवन पनि दूषित हुन्छ भन्ने हेक्का समुदायमा पु¥याउनु नै आजको मुख्य आवश्यकता हो,” पोखरेलले भन्नुभयो ।

सञ्जालका सदस्य तथा शिक्षक जहाँगिर आलमले वातावरणलाई मानिसको जीवन र जीविकासँग जोडेर फोहोरले पार्ने असरबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनका लागि सरसफाइ अभियान चलाइएको बताउनुभयो ।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताले वन तथा वातावरण संरक्षण र जलवायु परिवर्तन सम्बन्धी सैद्धान्तिक ज्ञान कमजोर रहेको भन्दै यसको व्यावहारिक पक्षमा झनै बढी कमजोरी रहेको औंल्याउनुभयो । उहाँले नीति र नियमलाई व्यवहारमा उतार्न सबै पक्षको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बजार समितिका अध्यक्ष रामचन्द्र मेहता, विद्यालयका प्रधानाध्यापक उमेशकुमार मेहता र मानव अधिकार रक्षक सञ्जालका सदस्य दिपेन्द्र झाले जलवायु परिवर्तन र हरितगृह ग्यासको उत्सर्जनले पृथ्वीको औसत तापक्रम बढाएकोमा चिन्ता व्यक्त गर्नुभयो । वक्ताहरूले तापक्रम वृद्धिका कारण प्राकृतिक प्रकोप बढ्नु, प्राणघातक रोगहरू फैलनु, दुर्लभ वन्यजन्तु र वनस्पति लोप हुनुका साथै कृषि उत्पादन घटेर खाद्य तथा पानीको संकट बढ्दै गएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
पृष्ठभूमि:
वातावरण संरक्षणका लागि विश्वव्यापी राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ मा स्टकहोममा भएको संयुक्त राष्ट्र संघको विश्व वातावरण सम्मेलनको स्मृतिमा प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवस मनाइन्छ । नेपालको संविधान (२०७२) को धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ ।













