कोशी प्रदेश समाचार समाज

मोरङमा सिटी अटो दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

विराटनगर, २१ असार । मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट (On Test) सिटी अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २० गते मध्यान्ह करिब ११ः५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको सिटी अटो अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले घाइते चारै जनाको उद्धार गरी उपचारका लागि एपेक्स अस्पताल, लेटाङ पुर्‍याएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ नगरपालिका–६ निवासी ६० वर्षीय मुनराज लावतीलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल, विराटनगर रिफर गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिटी अटो चालक लेटाङ नगरपालिका–६ निवासी अन्दाजी ४० वर्षीय वीरबहादुर राई, सोही स्थानकी अन्दाजी २७ वर्षीया शान्ति राई तथा लेटाङ नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीया अनु राई घाइते भएका छन्। उनीहरूको एपेक्स अस्पताल, लेटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

   

You cannot copy content of this page