मधेस प्रदेश समाचार समाज

सप्तरीमा सरिता देवीले सामान्य प्रसूतिबाट तिम्ल्याहा छोरी जन्माइन्

कञ्चनरूप, १ साउन । सप्तरीको तिरहुत गाउँपालिका–१ धनपुरी निवासी सरिता देवी सदाले एकैपटक तीन जना छोरी (तिम्ल्याहा) लाई जन्म दिएकी छन्। बिहीबार दिउँसो करिब ३:३० बजे भारदह अस्पतालमा उनको सफलतापूर्वक सामान्य (नर्मल) प्रसूति गराइएको हो।

अस्पतालका अनुसार सरिताले तीनै जना स्वस्थ छोरीलाई जन्म दिएकी हुन्। हाल आमा र नवजात शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

चिकित्सकहरूका अनुसार तिम्ल्याहा गर्भावस्था चिकित्सा विज्ञानका दृष्टिले जटिल मानिन्छ। त्यसमाथि शल्यक्रिया नगरी सामान्य प्रसूतिबाट तीनै शिशुको सुरक्षित जन्म हुनु निकै दुर्लभ र उपलब्धिमूलक घटना हो। ग्रामीण क्षेत्रमा रहेको भारदह अस्पतालमै यस्तो जटिल प्रसूति सफलतापूर्वक सम्पन्न हुनु अस्पतालका स्वास्थ्यकर्मीको दक्षता र सेवाको उदाहरण बनेको छ।

घटनापछि स्थानीयवासीले अस्पतालको स्वास्थ्य टोलीको खुलेर प्रशंसा गरेका छन्। सामाजिक अभियन्ता जसो माझीले सामाजिक सञ्जालमार्फत आमा र तीनै नवजात शिशु सकुशल रहेको जानकारी दिँदै अस्पतालको सफल सेवाप्रति खुसी व्यक्त गरेका छन्।

स्थानीय बुद्धिजीवीहरूले ग्रामीण अस्पतालमा आवश्यक जनशक्ति, उपकरण र सेवा विस्तार गर्न सके जटिल स्वास्थ्य सेवासमेत स्थानीयस्तरमै उपलब्ध गराउन सकिने यस घटनाले पुष्टि गरेको बताएका छन्।

विपन्न तथा सीमान्तकृत सदा समुदायकी सरिता र उनका तीन नवजात शिशुको पोषण, नियमित स्वास्थ्य परीक्षण तथा पालनपोषणका लागि स्थानीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायले विशेष सहयोग तथा संरक्षण कार्यक्रम ल्याउनुपर्ने मागसमेत स्थानीय स्तरमा उठ्न थालेको छ।

   

You cannot copy content of this page