मधेस प्रदेश समाचार समाज

ऋण तिर्नु नपर्ने आशमा आफ्नै बुवाकै हत्या, १८ वर्षपछि छोरा पक्राउ

रौतहट, १७ वैशाख । आफ्नै बुवाको विभत्स हत्या गरी १८ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले साविक जयनगर गाउँ विकास समिति वडा नं. ४ (हाल गरुडा नगरपालिका १) बस्ने ६५ वर्षीय बिशेश्वर महतो कोइरीको हत्यामा संलग्न उनका कान्छा छोरा राम विलास महतोलाई पक्राउ गरेको हो।
प्रहरीको विज्ञप्तिका अनुसार, २०६४ साल जेठ २० गते राति करिब १२ः४५ बजेको समयमा बिशेश्वर महतो कोइरीको हात खुट्टा बाँधी धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। हत्यापछि छोरा राम विलास महतो परिवारसहित फरार भएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्याको पछाडि आर्थिक लेनदेन र जग्गा सम्बन्धी विवाद मुख्य कारण रहेको खुलेको छ।
अभियुक्त राम विलास महतोले गाउँका धेरै व्यक्तिहरूसँग ऋण लिएका थिए। अदालतमा उनीविरुद्ध जग्गा खिचोला मुद्दा समेत चलिरहेको थियो।
बुवाको हत्या गरेपछि ऋण तिर्नु नपर्ने, मुद्दाका विपक्षीहरूलाई हत्याको मुद्दामा फसाउन सकिने र जग्गा सम्बन्धी विवाद सुल्झिने नियतले उनले आफ्नै बुवाको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।
फरार रहेका महतोलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनलाई चितवन जिल्लामा लुकिछिपी बसिरहेको अवस्थामा २०८३ वैशाख १६ गते फेला पारी पक्राउ गरेको हो। ३१ वर्षको उमेरमा हत्या गरेका महतो अहिले ४९ वर्षका भएका छन्।
प्रहरीले उनलाई रौतहट ल्याई थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ९म्क्ए० विष्णु प्रदिप बस्यालले जानकारी दिनुभएको छ।

   

You cannot copy content of this page