कोशी प्रदेश समाचार समाज

मोरङको पथरीशनिश्चरेमा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

विराटनगर, ९ साउन । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ स्थित श्री अमरसिंह माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरीका आधारमा शिक्षक ३८ वर्षीय प्रकाश अधिकारीलाई पक्राउ गरिएको हो। उनी झापाको गौरादह नगरपालिका–४ निवासी हुन्।

प्रहरीले इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोष्ट हसन्दहबाट संयुक्त टोली परिचालन गरी शिक्षक अधिकारीलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका शिक्षकलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण, विद्यार्थीको स्वास्थ्य अवस्था तथा कुटपिटसँग सम्बन्धित अन्य तथ्यहरूबारे अनुसन्धान जारी रहेको छ। 

विद्यालयभित्र विद्यार्थीमाथि हुने हिंसाजन्य घटनाप्रति गम्भीर रूपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page