कञ्चनरूप । मौलिक पहिचान, भाषा, कला, संस्कृति तथा परम्परागत ज्ञान–सीपको संरक्षण र पुस्तान्तरणसँगै आदिवासी जनजातिका अधिकारका विषयमा बौद्धिक तथा नीतिमुखी बहस गर्ने उद्देश्यले सप्तरीमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव–२०८३ आयोजना हुने भएको छ।
सप्तरीको सप्तकोशी नगरपालिका–५, गंगाजलीमा आगामी कार्तिक १४ र १५ गते महोत्सव आयोजना गर्न लागिएको हो। सप्तकोशी नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजनामा हुने महोत्सवले आदिवासी जनजातिको मौलिक पहिचान संरक्षण, अधिकार सुनिश्चितता तथा समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि साहित्य र नीतिबीच संवाद स्थापित गर्ने आयोजकले जनाएको छ।
महोत्सवमा देशभरबाट आदिवासी जनजातिका अगुवा, अभियानकर्मी, साहित्यकार, पत्रकार, जनप्रतिनिधि तथा विषय विज्ञहरूको सहभागिता रहने बताइएको छ। कार्यक्रममा आदिवासी जनजातिका भाषा, साहित्य, कला, संस्कृति, परम्परागत ज्ञान–सीप, प्रथाजनित अभ्यास तथा अधिकारको संरक्षण र पुस्तान्तरण लगायतका विषयमा गहन छलफल गरिनेछ।
त्यस्तै, आदिवासी जनजातिका समसामयिक चुनौती, संवैधानिक तथा अन्तर्राष्ट्रिय अधिकार, आदिवासी जनजाति आन्दोलन, संघीयता, भाषा तथा संस्कृति संरक्षण, प्रथाजनित प्रणाली र परम्परागत ज्ञानका विषयमा समेत बौद्धिक बहस सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा आईएलओ महासन्धि नं. १६९, संयुक्त राष्ट्रसंघीय आदिवासी जनजातिको अधिकारसम्बन्धी घोषणापत्र (UNDRIP), जलवायु परिवर्तन, कार्बन व्यापार तथा लाभांश बाँडफाँड लगायतका समसामयिक र नीतिगत विषयमा समेत व्यापक छलफल हुने बताइएको छ
आयोजकका अनुसार महोत्सवको आवश्यक तयारी पूरा भइसकेको छ। आदिवासी जनजातिका सवाललाई नीति निर्माण र सार्वजनिक बहसको केन्द्रमा ल्याउने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा राजनीतिक दल, सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालालाई गरिमामय उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।
महोत्सवले आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति र पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न तथा अधिकारका सवालमा साझा दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।













