विराटनगर, २९ असोज । मोरङको विराटनगरस्थित कारागारभित्र लागुऔषध छिराउन खोजेको आरोपमा दुई महिला पक्राउ परेका छन्। कारागारको मुख्य गेटमा नियमित जाँच गर्ने क्रममा उनीहरूको साथबाट ४८० थान लागुऔषध ट्याबलेट बरामद भएको हो।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ का मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्।
बिहीबार दिउँसो करिब १२ः३० बजे विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागारको मुख्य प्रवेशद्वारमा जाँच गर्ने क्रममा उनीहरूले वस्त्रको प्याडभित्र लुकाएर ल्याएको अवस्थामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी जम्मा ४८० थान ट्याबलेट बरामद गरिएको छ।
पक्राउ परेका दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कारागारमा खटिएको नेपाल प्रहरीको टोलीको जिम्मा लगाइएको जनाइएको छ।










