समाचार

सप्तरीमा ६ महिनामा ४४ मानवअधिकार उल्लघंनका घटना

राजविराज, १६ असार । सप्तरी जिल्लामा विगत ६ महिनामा मानव अधिकार उल्लघंनका ४४ वटा विभिन्न घटना घटेका छन् ।
बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले राजविराजमा आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२२ जनवरीदेखि जुनसम्म सप्तरीमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो ।
इन्सेक सप्तरीका अनुसार सन् २०२२ को ६ महिनाको अवधिमा महिला र बाल हिंसाका घटना बढी अभिलेख गरिएको छ ।
इन्सेक सप्तरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो ६ महिनाको अवधिमा गैरराज्यबाट ३ ओटा हत्याका , बालिका बलात्कारको १० घटना, महिला बलात्कारका ३ घटना, महिला बलात्कार प्रयासका १ घटना, परिवारकै सदस्यबाट भएको हिंसामा ४ जना, बहुविवाहको ५, गर्भपतनको १, मानव वेचविखनको १, अपहरण उद्योगको १, अभद्र व्यवहारको १, घरेलु हिंसाका ३ जना पीडित भएका छन् ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार यस अवधिमा बढी चर्चामा रहेको घटनामा देवरले मट्टितेल छर्केर आगो लगाई हत्या गरेको छ । बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई २०७८ माघ २१ गते पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा पक्राउ परेका देवर २१ वर्षीय परमेश्वर साह असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देबकुमारी सदाको हत्या आरोपमा उनका पति ४९ वर्षीय अगहनु सदा ५० हजार धरौटी रकम राख्न नसक्दा चैत २२ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।
यो वर्ष गैरराज्यबाट ३ ओटा हत्याका घटनामा २७ र ३५ वर्षका दुई दलित र २५ वर्षका एक मुस्लिम समुदायका युवकको हत्या भएको छ । आरोपितहरु १६ मध्ये थुनामा २, धरौटीमा ३, बालसुधार गृहमा १ र पक्राउ पुर्जी जारी भएका १० जना छन् । नवजात शिशुको हत्या गरी गाडेको अवस्थामा शव फाल्नेको पहिचान हुन सकेको छैन् ।
प्रतिवेदनअनुसार बालिका बलात्कारको १० घटनामा १८ वर्षभित्रका १० जना पीडित भइन् । आरोपित १५ वर्षदेखि ६८ वर्षका १५ जना मध्ये ५ जना पुर्पक्षका लागि थुनामा, ५ जना बालसुधार गृहमा छन् । आरोपित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने २ जना हालै गिरफ्तार भएका छन् ।
महिला बलात्कारका ३ घटनामा २५ माथि ४० वर्षीयासम्मका ३ महिला पीडित भइन् । बलात्कारको घटनामा १८ देखि ३० वर्षीय ५ जना आरोपितमध्ये १ जनाले सफाई पाए, १ जना हालै पक्राउ परेका छन् भने ३ जना फरार छन् । महिला बलात्कार प्रयासका १ घटनामा २८ वर्षीया महिला पीडित भइन् । आरोपित २ मध्ये १ जना धरौटीमा रिहा भए र १ जना फरार छन् ।
अमानविय व्यवहारको १ घटनामा २७ वर्षीया १ महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । परिवारकै सदस्यबाट भएको हिंसामा ४ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए भने २ जना फरार छन् । यो अवधिमा बहुविवाहको ५, गर्भपतनको १, मानव वेचविखनको १, अपहरण उद्योगको १, अभद्र व्यवहारको १, घरेलु हिंसाका ३ घटना अभिलेख भएको छ ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत ४ ओटा घटना, धम्कीको १, झडपको १ घटना समेत अभिलेख भएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले होस्टाइलको बढदे प्रवृतिले न्याय सम्पादनमा असर परेको बताउनु भयो । अनुसन्धान र अदालतमा फरक वयान दिनाले निर्दोष फँस्ने र दोषी उम्किने भय उत्पन्न भएको बताउनु हुँदै उहाँले घटनाको फैसालासम्म समेटनु महत्वपूर्ण रहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नागरिकमा चेतना बढे र सरोकारवाला जिम्मेवार बने मात्र शान्ति, न्यायपूर्ण र सभ्य समाज निर्माण हुने बताउनु भयो । आफूले फैसला गर्दा न्याय हुने कुरामा अत्यन्त सजग रहेको भन्नुहुँदै उहाँले चित्त नबुझ्ना साथ तालाबन्दी, सडक अवरुद्ध गरिहाल्ने परिपाटीले अन्तत सेवाग्राही जनताकै मानव अधिकार उल्लघंन हुनेतर्फ ध्यानाकर्षण गराउनु भयो ।

नागरिकको सहयोग र सचेतना बिना प्रहरीले पूर्ण सफलता नपाउने भन्नुहँदै प्रहरी उपरिक्षक अविनारायण काफ्लेले बढदो लागु औषध र बलात्कार, बिवाहमा डिजे र पड्का फोड्ने प्रवृति निरुत्साहित गर्न नागरिकको भूमिकाको खोजी गर्नुभयो ।
कार्यक्रममा अदालतका सूचना अधिकृत भरतमणि पोखरेल, गैसस महासंघका अध्यक्ष बलदेव मण्डल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हतिनारायण लाल दास, प्रदेश कानुनी अधिकृत किरण साह, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण देव, जिल्ला बार एकाईका निवर्तमान अध्यक्ष डोमन साह, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता, महिला मानव अधिकार रक्षक सञ्जालकी मनु खनाल, प्याब्सनका सचिव संजय शर्मालगायतकाले जनप्रतिनिधी, प्रहरी र अगुवाहरू जिम्मेवार बन्न्ुपर्ने बताउनु भयो ।

जिल्ला बार इकाई सप्तरीका अध्यक्ष रामप्रसाद चौधरीको अध्यक्षता एवम् इन्सेक सहजकर्ता दिपक यादवद्वारा सञ्चालित कार्यक्रममा वक्ताहरूले हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथ राज्यले सकृयता बढाउनु पर्ने र अन्यले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली सेनाका मेजर प्रभातकिरण श्रेष्ठ, प्रहरी उपरिक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रहरी उपरिक्षक श्याममणि ढकाल, राजविराज उच्च बार एशोएिसनका अध्यक्ष भरत यादव, जिल्ला बार एकाईका पूर्व अध्यक्ष कृपानारायण यादव, जिल्ला कानुनी सहायता अधिकृत रामप्रसाद गौतम, क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह, कारागार कार्यालय र सहयोगी समाजका प्रतिनिधीसहित पत्रकार, अधिकारकर्मी, कानुन व्यवसायीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर स्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साहले स्वागत गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page