समाचार

हनुमाननगरमा रहेको कालो हनुमान मन्दिर: धार्मिक पर्यटनको केन्द्रबिन्दु बन्दै

रवि शर्मा /
हनुमाननगर, ६ कार्तिक । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा अवस्थित कालो हनुमान मन्दिर धार्मिक आस्था र इतिहासको अद्वितीय केन्द्रका रूपमा स्थापित हुँदै आएको छ ।
मिथिलाको प्राचीन सभ्यतासँग जोडिएको यो मन्दिरलाई ऋषिमुनि, तपस्वी, र श्रद्धालुहरूले कोशी नदीमा महास्नानपछि विश्राम गर्ने प्रमुख स्थलका रूपमा उपयोग गर्ने गरेका थिए । मन्दिरमा रहेको कालो हनुमानको प्रतिमालाई विश्वकै एकमात्र यस्तो प्रतिमा मानिन्छ, जसलाई सिद्धी र संकट निवारणको रूपमा पूजा गरिन्छ ।
धार्मिक किंवदन्तीअनुसार, कोशी स्नान पछि हनुमानजीले स्वयं यसै हनुमाननगरमा दर्शन दिएको कथा छ। मिथिलाको विलयपछि, हनुमानजीको बालरूपको कालो प्रतिमा लामो समयसम्म गर्भमै रहेको र पछि एक सिद्ध पुरुषले तपस्या गर्दा सपनामा हनुमानजीले आफ्नो प्रतिमा भेट्न आदेश दिएको विश्वास गरिन्छ । सपनामा प्राप्त संकेतअनुसार खोजी गर्दा साक्षात हनुमानजीको बालरूपी कालो मूर्ति फेला पर्‍यो, जसलाई आजसम्म पनि श्रद्धा र भक्तिपूर्वक पूजा गर्ने गरिन्छ।
स्थानीयका अनुसार मन्दिरको स्थापना र यसको अस्तित्वको ठ्याक्कै यकिन इतिहास उपलब्ध नभए पनि यसको आयु सयौं वर्ष पुरानो हुनसक्ने मान्यता छ ।
यो मन्दिर हनुमानजीको विशेष महिमा भएको स्थल हो, जहाँ भक्तजनहरूले हनुमानजीको पूजा गरी संकट निवारण र सिद्धी प्राप्तिको कामना गर्छन् । कालो स्वरूपको हनुमानजीको उल्लेख विभिन्न धार्मिक ग्रन्थहरूमा पनि पाइन्छ, जसले यस मन्दिरको महत्वलाई अझ गहिरो बनाएको छ ।
मन्दिरका पुजारी गोविन्द मिश्राका अनुसार, प्रत्येक मंगलबार मन्दिरमा बिहान ८ बजे विशेष महाआरतीको आयोजन हुँदै आएको छ, जसले भक्तजनहरूको आकर्षण बढाइरहेको छ । यो महाआरती विगत दुई वर्षदेखि नियमित रूपमा भइरहेको छ । जहाँ स्थानीयहरू साथै टाढाटाढाबाट आएका भक्तजनहरू सहभागी हुन्छन् । महाआरतीमा सहभागी भएर हनुमानजीको आशीर्वाद प्राप्त गर्नेको भीड मंगलबार विशेष रूपमा देख्न सकिन्छ।

स्थानिय धर्मप्रेमी अशोक शर्माले महाआरतिले भक्तजनहरुमा आस्था र शक्ति थप्ने विश्वास रहेको बताउनुभएको छ । उहाँका अनुसार हनुमान मन्दिरले धार्मिक पर्यटनको दृष्टिकोणले अझ धेरै प्रगति हुनसक्छ ।
पर्यटन विकासको पर्खाइमा हनुमान मन्दिर
यस्तो ऐतिहासिक र धार्मिक महत्त्व बोकेको यो मन्दिर भने पर्यटकीय रूपमा अझै पनि अपेक्षाकृत विकासको पर्खाइमा छ। यसको संरक्षण, सम्वर्द्धन, र प्रचारप्रसार गर्न सके यस मन्दिरलाई धार्मिक पर्यटनको मुख्य केन्द्रबिन्दु बनाउन सकिन्छ। स्थानीय सरकारले यसको महत्त्वलाई दृष्टिगत गर्दै उचित विकास कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको छ।
हनुमाननगरको नाम पनि यसै मन्दिरसँग जोडिएको हुन सक्ने जनविश्वास रहेको छ, किनकि यो ठाउँमा हनुमानजीको विशेष कृपा रहेको मानिन्छ।
धार्मिक पर्यटकहरूको चाप बढाउने गरी यसको प्रचारप्रसार र संरचना विस्तार गरेमा, यो स्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको एक महत्वपूर्ण केन्द्र बन्नसक्छ।

   

You cannot copy content of this page