विराटनगर ,१६ मंसिर । “प्रविधिको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगंगा गाउँपालिकाको आयोजनामा प्रभातफेरी तथा कोणसभा सम्पन्न भएको छ ।
लैङ्गिक हिंंसाविरूद्धको १६ दिवसीय अभियानका क्रममा बुढीगंगा गाउँपालिकाको स्थानीय नरग्राम नमूना माध्यमिक विद्यालयबाट सुरू भएको प्रभातफेरी भित्री बस्ती परिक्रमा गर्दै जनप्रिय माध्यमिक विद्यालय पुगेर कोणसभामा परिणत भएको हो ।
कोणसभामा बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छेदारले लिङ्गकै कारण हुने भेदभाव, दुव्र्यवहारलाई लैङ्गिक हिंसा भन्ने गरिएकाले यस्ता हिंसाको शिकार भएमा प्रतिरोध गर्न अपिल गर्नुभयो । आफु माथी भैरहेको हिंसा सहेर नबस्न बरु नजिकको वडा कार्यालय, न्यायिक समिति, प्रहरी कार्यालय, अदालत न्यायिक निकायसम्म पुग्न उहाँले अनुरोध गर्नुभयो ।

इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलले हिंसा बारे खुलेर बताउन सक्ने वातावरण तयार पार्नुपर्ने बताउनु भयो । आफूमाथि भएको हिंसा बारे अझैं पनि अरुलाई बताउन सक्ने अवस्था नहुँदा हिंसाको स्वरुप बढ्दै गएकोले त्यसको अन्त्य गर्न जरुरी रहेको उहाँले बताउनु भयो ।
कोणसभामा बुढीगंगा गाउँपालिकाका पूर्व अध्यक्ष बालचन्द्र माझीले बसोवासका आधारमा विविधता भएको बुढीगंगा गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरण र त्यसका लागि १६ दिवसीय अभियानलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।
कोणसभामा पूर्व एसपी विद्यानन्द माझीले लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानका क्रममा बुढीगंगा गाउँपालिकामा सचेतना अभियान सञ्चालन हुनु निकै महत्वपूर्ण भएको बताउनु भयो । अधिवक्ता किशोर माझीले लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानले मात्र नपुग्ने भएकाले वर्षभरी नै लैङ्गिक हिंसाविरूद्ध खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो ।

बुढीगंगा गाउँपालिकाकी महिला, बालबालिका शाखा प्रमुख निश्चलता कार्कीले सञ्चालन गर्नुभएको कोणसभामा वडा ६ की सदस्य चन्द्रकला चौधरीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा अधिवक्ता मधुसुदन चौधरी, मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बाँस्कोटा, सिडिओ नेपालकी तुलसा आचार्य, दलित महिला संघकी मन्दिरा विश्वकर्मालगायत जनप्रतिनिधि, शिक्षक, बिद्यार्थी, कर्मचारी, प्रहरी, नागरिक समाजको उल्लेखनीय सहभागिता रहेको थियो ।














