विराटनगर, १२ फागुन । झापा र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित औषधी तथा लागू औषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोमबार इलाका प्रहरी कार्यालय बुधबारेले झापाको बुद्धशान्ति–४ का सोनम शेर्पालाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय धरान बाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान–८ तिनकुनेस्थितबाट प्र १–०२–०५५ प ११३२ नम्बरको मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा–४ का सिजन अधिकारी र पछाडि सवार तेह्रथुम फेदाप–३ का नविन कडेललाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ५९० क्याप्सुल र डिकोलिक ५९० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
लागू औषधसहित पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










