कोशी प्रदेश समाचार समाज

तस्बिर खिच्ने क्रममा तमोर नदीमा खसेर विराटनगरकी सुष्माको मृत्यु

धनकुटा । धनकुटाको तमोर नदीमा तस्बिर खिच्ने क्रममा चिप्लिएर नदीमा खस्दा एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको बुढिगंगा गाउँपालिका–१ बस्ने गोबिन्द बरालकी २४ वर्षीया श्रीमती सुष्मा पौडेल रहेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो धनकुटा नगरपालिका–९ स्थित मुलघाटमा रहेको तमोर नदी किनारमा तस्बिर खिच्ने क्रममा उनी चिप्लिएर नदीमा खसेकी थिइन्। सो स्थान अरुण तेस्रो जलविद्युत् आयोजनाका सामग्री ओसारपसारका लागि निर्माण गरिएको वैकल्पिक बाटो नजिक पर्छ।

चिप्लिएर नदीमा खसेपछि उनलाई पानीले करिब ५०० मिटर तलसम्म बगाएको थियो।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोली, मुलघाटस्थित सशस्त्र प्रहरीको विपद् उद्धार समूह र स्थानीयबासीको सहयोगमा उनको उद्धार गरिएको थियो। गम्भीर अवस्थामा उद्धार गरिएकी पौडेललाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

   

You cannot copy content of this page