बिराटनगर, २६ जेठ । सङ्खुवासभा जिल्लामा बलात्कारबाट पीडित भएकी एक १० वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । पीडित बालिकालाई न्यायिक प्रक्रियामा जान र स्वास्थ्य उपचार सहज बनाउन इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले मंगलबार ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
इन्सेक सङ्खुवासभाका प्रतिनिधि भविन कार्कीमार्फत जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । पीडित बालिकाको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले कानुनी र स्वास्थ्य उपचारका लागि इन्सेकमा निवेदन परेको र सुरक्षित आवासगृहको सिफारिसका आधारमा सो सहयोग गरिएको इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलले जानकारी दिनुभयो ।

घटनापछि पीडित बालिकालाई संरक्षण दिइरहेको सुरक्षित आवासगृह तथा पुनस्र्थापना केन्द्रकी व्यवस्थापक तुलसी घिमिरेले इन्सेकबाट प्राप्त सहयोगले बालिकाको कानुनी लडाइँ र स्वास्थ्य उपचारमा राहत पुग्ने बताउनुभयो ।
१० वर्षीया ती बालिकालाई गत जेठ ७ गते बलात्कार गरेको आरोपमा पाँचखपन नगरपालिका–३ का ३० वर्षीय अरुण राई पक्राउ परेका छन् । पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले राईलाई जेठ २० गते गिरफ्तार गरेको हो । पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।
बलात्कारबाट घाइते भएकी बालिकाको शरीरमा चोट र निलडाम भेटिएको जिल्ला अस्पताल सङ्खुवासभाले जनाएको छ । जिल्ला अस्पतालमा आवश्यक उपचार गरिएपछि बालिकालाई हाल सुरक्षित आवासगृह तथा पुनस्र्थापना केन्द्रमा राखिएको छ ।











