उत्सव आचार्य
कञ्चनरुप, २० भदौ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिकामा पहिलोपटक ऐतिहासिक तथा भव्य राधाकृष्ण रथयात्रा निकालिएको छ। श्री श्री १०८ राधाकृष्ण मन्दिर युवा रथयात्रा समिति, कञ्चनरुप–४ कञ्चनपुरको आयोजनामा शनिबार बृहत् रथयात्रा सम्पन्न भएको हो।
भगवान श्रीकृष्णको जन्मोत्सवको उल्लासमय अवसरमा कञ्चनपुरस्थित राधाकृष्ण मन्दिरको प्राङ्गणबाट विधिवत् रूपमा सुरु भएको रथयात्राले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। रथयात्रा कञ्चनपुर बजार, बेरियर, विष्णु मन्दिर टोल, रुपनगर चोक, काष्ठमहाल, शनिबारे हटिया, मिलन चोक र बीपी चोकलगायतका क्षेत्रमा पुगेर पुनः राधाकृष्ण मन्दिरमा आएपछि समापन भएको थियो।

रथयात्रा सडकमा निस्किएसँगै नगरका विभिन्न स्थानमा श्रद्धालुहरूको उल्लेख्य भीड लागेको थियो। भक्तजनहरूले राधाकृष्णको दर्शन तथा पूजाअर्चना गर्दै रथयात्रामा उत्साहपूर्वक सहभागिता जनाएका थिए।
जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्न रथयात्रामा विभिन्न सांस्कृतिक झाँकी तथा प्रस्तुति समावेश गरिएको थियो। पञ्चेबाजा, लाखे नाच र विभिन्न भजन–कीर्तन टोलीको प्रस्तुतिले नगरको वातावरण भक्तिमय र उल्लासमय बनेको थियो। भजन–कीर्तनको तालमा श्रद्धालुहरू नाच्दै र झुम्दै रथयात्रामा सहभागी भएका थिए।
ऐतिहासिक राधाकृष्ण रथयात्रामा कञ्चनरुप नगरपालिकाका विभिन्न वडा तथा आसपासका क्षेत्रबाट समेत हजारौँ श्रद्धालुको सहभागिता रहेको आयोजक समितिले जनाएको छ। धार्मिक तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, धार्मिक व्यक्तित्व, सञ्चारकर्मी तथा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कञ्चनरुप नगरपालिकामा पहिलोपटक आयोजना गरिएको यस रथयात्रालाई स्थानीयवासीले धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्त्वपूर्ण सुरुवातका रूपमा लिएका छन्। रथयात्राले स्थानीयस्तरमा धार्मिक सद्भाव, एकता र आपसी भाइचारा बढाउनुका साथै श्रीकृष्ण जन्माष्टमीको धार्मिक महिमा र परम्परागत संस्कृतिको संरक्षणमा योगदान पुर्याउने सहभागीहरूले बताएका छन्।
आयोजक समितिले आगामी वर्षहरूमा पनि राधाकृष्ण रथयात्रालाई थप व्यवस्थित र भव्य बनाउँदै निरन्तरता दिने जनाएको छ।


















