समाज

सप्तरीमा जिता नदीको तटबन्ध भत्किँदा १ सय ५० बढी घर डुबानमा

कञ्चनरुप । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ स्थित रहेको जिता खोलाको तटबन्ध भत्किँदा डेढ सयभन्दा बढी घर डुबानमा परेका छन् ।
मङ्गलवार बिहान तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित खोलाको पश्चिमी तटबन्ध भत्किदा खंग टोल, सरदार टोल, राम टोलासहितका गरि १ सय ५० भन्दा बढी घर डुवानमा परेका हुन् । तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको थियो ।
बाढीले सयौं घरपरिवारलाई बिचल्लीमा पारेपनि दिनको समय भएकोले मानवीय क्षति भने नभएको गाउँपालिकाका बिपद् ब्यबस्थापन शाखा प्रमुख राजेश कुमार झाले बताए । उनले बाढीले पु¥याएको क्षतिको विवरण संकलन भईरहेकोले तथ्यांक अनुसार गाउँपालिकाले राहतको ब्यबस्था गरिरहेको जानकारी दिए ।

बाढीले आधा दर्जन घर भत्किएर पूर्ण रुपले क्षति गरेको तथा अन्य घरहरुमा पनि कटान शुरु गरेकोले पीडितहरु घर भत्कने डरले त्रसित भएका छन् । बाढीले एक्कसी धार परिवर्तन गर्दा गाउँपालिकाका सयौं बिघा धानबालीमा समेत क्षति पुगेको स्थानीयहरुले बताएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page