राजविराज ,२२ भदौ । सप्तरीमा कारागारभित्र रहेका महिला कैदीबन्दीहरूले मंगलबार तिज मनाएका छन् ।
तिज महोत्सव मुल समारोह समिति सप्तरीका सदस्य र अधिकारकर्मीहरूसँगै कारागार पुग्नु भएकी तिज महोत्सव समितिकी संयोजक पुनम पोखरेलले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टीका लगायतको सृङ्गारका सामान दिएर तिजको दर मनाएका हुन ।
त्यसअघि कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै सृङ्गारका सामान प्रदान गरिएको हो ।
व्यवस्थापन उपसमितिकी संयोजक अनीता देवकोटाले भनिन्– वर्ष दिनको पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तिज मनाउन नपाएका महिलाहरूसँग खुसि साटासाट गर्न कार्यक्रम गरिएको हो ।
जेललाई सुधार केन्द्रका रूपमा लिदै भविष्यमा समाजमा पुनस्थापित हुने गतिविधिमा संलग्न हुन समितिका पदाधिकारीहरूले शुभकामना दिए । यस्ता कार्यक्रमले शुभकामना आदानप्रदानका साथै रचनात्मक क्रियाकलापमा प्रोत्साहन गर्ने र सकारात्मक भावनाको विकास गर्ने जेलर सुमन कोइरालाले बताए । जेल जिवन बिताउन बाध्य महिलाहरूसँग सामाजिक व्यक्तिहरुले शुभकामना साटासाट गर्दा एक्लोपन हटेको महसुस हुने उनको भनाई थियो ।
चाडपर्वमा घर–माइतको यादले सताउने र खिन्न हुनुपर्ने अवस्थामा कारागारमा रहेका महिलालाई सम्झेर आएकोमा महिला कैदीबन्दीले धन्यवाद दिएँ । अघिल्ला वर्षहरूमा तिजका वेला निन्याउरो भएर बस्नुपरेकोमा यसवर्ष कारागारभित्र रहेका महिलाहरुलाई पनि सम्झेर आएकोमा कारागारकी महिला चौकीदारले खुशी व्यक्त गरिन् । अघिल्ला वर्षहरूमा महिला कैदीबन्दीको तिज खल्लो हुने गरेको र तिजका बेला खिन्न हुनु परेको उहाँले बताउनु भयो ।
‘पर्खालभित्रभित्र रहेका कैदीबन्दी महिला दिदी–बहिनीको मुहारमा खुसी ल्याउन सम्झेका हौँ,’ समितिकी कोषाध्यक्ष ललीता कर्णले दर खान र श्रृंगारको समान पाउनुभन्दा हामीसँगको भेंटघाटले महिला कैदीबन्दी बढी खुसी भएको अनुभव गरेको बताइन् । उनले कारागारभित्र रहेका कैदीबन्दीको समस्या बुझ्न बेला–बेलामा विभिन्न संघ–संस्थाहरु जानु पर्ने समेत बताइन् ।
समितिले बिहीबार राजविराजमा मौलिक गीत, नृत्यसहितको प्रतियोगितात्मक तिज महोत्सव आयोजना गरिरहेको छ ।
कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेल, अधिवक्ता मनु खनाल, मनोविमर्शकर्ता रन्जना चौधरी, सामाजिक कार्यकर्ता रिया राय सञ्चेती लगायतको सहभागिता रहेको थियो ।
Add Comment