धर्म संस्कृति

सप्तरीमा तिज हर्शोउल्लासका साथ मनाइँयो,राजविराजमा प्रतियोगितात्मक तिज गीत र नृत्य सम्पन्न

कञ्चनरुप (सप्तरी) । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज नेपाली हिन्दू महिलाहरुले आज सप्तरीमा उल्लासका साथ मनाएका छन् ।
जिल्लाका विभिन्न महादेव मन्दिरहरुमा पूजाआजा गर्ने महिलाहरुको विहानैदेखि भीड लागेको थियो । निराहार ब्रत बसेका महिलाहरुले दिनभरी नाचगान गर्दै रमाइलोका साथ तिज पर्व मनाएका हुन् ।
कञ्चनरुपको धर्मेश्वर महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर, राजविराजको हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथ मन्दिर, बलुवाको भजनेश्वरनाथ मन्दिर, लालापट्टीको लालेश्वरनाथ मन्दिर लगायत जिल्लाका अन्य शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी महिलाको घुइचो लागेको थियो ।
हिन्दु नारीको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार ब्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर ब्रत तोड्ने परम्परा छ ।

त्यस्तै आज राजविराजमा हिन्दू महिलाहरुले विभिन्न कार्यक्रम गरी उल्लासका साथ हरितालिका तिज मनाएका छन् ।
स्थानीय हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा तिज महोत्सव मूल समारोह समतिद्वारा यस बर्ष भव्यतापूर्वक प्रतियोगितात्मक तिज गीत तथा नृत्य कार्यक्रम सम्पन्न गरेको छ ।
तिज महोत्सव मूल समारोह समितिका संयोजक राजविराज जेसीजकी निवर्तमान अध्यक्ष एवम् पत्रकार पुनम पोखरेलको अध्यक्षतामा आयोजित प्रतियोगितात्मक गीत÷नृत्य प्रतियोगिता कार्यक्रममा उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय गीतबाट सुरु भएको प्रतियोगितात्मक खण्डमा मौलिक गीततर्फ थारु भाषामा गीत र नृत्य गर्नु हुने राजकुमारी चौधरी, बिमल चौधरी र राधा चौधरीको समूह प्रथम, नेपाली गीतमा गीत र नृत्य गर्नुहुने मञ्जु श्रेष्ठ, बिना उपाध्यक्ष र अनार श्रेष्ठको समूह द्वितिय तथा सरस्वती कार्की, रत्ना कार्की र सुमित्रा देवकोटाको समूह तृतिय हुनु भयो ।

यसैगरी अडियोतर्फ मैथिली गीतमा एकल नृत्य गर्नुभएकी रश्मी यादव र समूहतर्फ नेपाली गीतमा नृत्य गरेकी मान्सी पोखरेल, मेघना सिंह र प्रकृति थापाको समूहले उत्कृष्ठ स्थान हासिल गर्नुभयो ।
विजेताहरुलाई पुरस्कार र प्रमाण पत्र प्रमुख अतिथि संविधान सभा सदस्य रन्जु ठाकुर, बोदे बर्साइन नगरपालिकाकी उपप्रमुख रन्जु साह, एकल महिला समूहकी प्रदेश २ की अध्यक्ष अनीता देवकोटा, सैनिक महिला संघकी सदस्य सुप्रिया थापाले प्रदान गर्नभयो ।
यसैगरी मूल समारोह समितिकी संयोजक पुनम पोखरेलले प्रमुख अतिथि ठाकुर र निर्णायकहरु शिक्षक तथा साहित्यकारहरु गिरीराज पौडेल, इन्द्रबहादुर थापा र ललिताकुमारी झालाई बिशेष उपहार प्रदान गर्नुभयो । कार्यक्रमको सञ्चालन अधिवक्ता मनु खनालले गर्नुभयो ।

नारी स्वतन्त्रताको प्रतीकको रुपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाहरुले तिज गीतमार्फत महिला अधिकारका साथै शान्ति र सुरक्षाको माग गरेका छन् ।
प्रतियोगितात्मक गीतहरुमार्फत महिलाहरुले मौलिक संस्कृतिको संरक्षण र देशमा राजनीतिक स्थायित्वमा जोड दिदै त्यसतर्फ नेताहरुको ध्यानाकर्षण समेत गराए । उनिहरुले शान्ति, स्थायित्व, सामाजिक न्याय र परिवर्तनका गीत समेत गाए ।
नेपाली नारीहरु शैक्षिक चेतनाका कारण निकै अघि बढिसकेकोले तिज गीतहरु पनि समाजप्रधान र देशप्रधान आउन थालेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताउनु भयो ।

महिलाहरु युगानुकुल परिवर्तनका विषयबस्तुहरुलाई समेटेर गीत गाउँन थालेको बताउँदै उहाँले अगाडि भन्नुभयो– “सदियौं देखि कुनै न कुनै बहानामा बन्धनमा रहेका दिदीबहिनीहरुले दुई दशकदेखि राजविराजस्थित हरिनन्देश्वर महादेव महिन्दरमा भेला भएर आफ्नो हक अधिकारका लागि यसरी गीत गाउनु निकै राम्रो बिषय हो ।”
तिज महोत्सवलाई व्यवस्थित पार्न व्यवस्थापन उपसमिति, पुरस्कार उपसमिति, प्रचार प्रसार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page