स्वास्थ्य

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्य क्षेत्रलाई नमुना बनाउने : नगर प्रमुख मिश्र

कञ्चनरुप , २८ भदौ । गुणस्तरीय स्वास्थ्य सेवा अहिले अपरिहार्य रहेको हुँदा सोही सेवा प्रदान गर्न नगरपालिकाले काम गरिरहेको कुरा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
सोमबार कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुर सप्तरीद्वारा आयोजित वार्षिक समिक्षा गोष्ठी समापन कार्यक्रममा बोल्दै प्रमुख मिश्रले सो कुरा बताउनु भएको हो ।
बिरामीले स्वास्थ्यकर्मी खोज्ने होइन् स्वास्थ्यकर्मीले बिरामी खोजी सेवा प्रदान गरे मात्र स्वास्थ्य क्षेत्र नमूना हुने बताउनुभयो । समस्या र चुनौतिलाई चिर्दै अगाडि बढेमा मात्र राम्रो सफलता हाँसिल गर्न सकिने र स्वास्थ्य क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त हुँदै गएको बताउँदै विशेषज्ञ चिकित्सकको सेवालाई बृद्धि गरी स्वास्थ्य क्षेत्रलाई नमुना बनाउने प्रतिबद्धता समेत जनाउनु भयो ।

उप प्रमुख निरु पोखरेलले स्वास्थ्य नै ठुलो धन भएको हुँदा मानिसले स्वस्थ रहनका लागि खानपिन र सरसफाइमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनु भयो । तुलनात्मक रुपमा राम्रो हुने होइन राम्रोमा कसरी राम्रो बन्न सकिन्छ त्यसतर्फ ध्यान पुर्‍याउन स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत दुनियालाल यादवले वार्षीक समिक्षा गोष्ठी भनेको आफ्नो मुल्याङ्कन आफैं गर्ने भएकाले वार्षिक समिक्षा अतिनै महत्त्वपूर्ण हुने बताउनु भयो । मिहिनतको फल मिठो हुन्छ भने झैँ स्वास्थ्यकर्मीहरुको कडा मेहनतले गर्दा कञ्चनरुपको स्वास्थ्य क्षेत्र राम्रो भएको उहाँले बताउनु भयो ।

प्रदेश नम्बर २ को ८ जिल्ला मध्ये कञ्चनरुपको स्वास्थ्य क्षेत्र अतिनै राम्रो भएको समेत उहाँले बताउनु भयो ।
नगर प्रवक्ता एवं वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह , स्वास्थ्य शाखाका स-संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, स्वास्थ्यकर्मी विरेन्द्र कुमार साह, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले स्वास्थ्य क्षेत्रलाई नमुना बताउन आफूहरु सक्रिय रुपमा काम गर्ने बताउनुभएको थियो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page