समाचार

किसानहरुको गुनासो सम्बोधन गर्न माँग गर्दै जिल्ला प्रशासन कार्यालय, सप्तरीमा ज्ञापनपत्र

सप्तरी, २९ मङ्सिर । नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले किसानहरुको गुनासो सम्बोधन गर्न माँग गर्दै आज बुधबार जिल्ला प्रशासन कार्यालय, सप्तरीमा ज्ञापनपत्र बुझाएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, जिल्ला सहकारी संघको कार्यालय निरीक्षण, अनुमगन र किसानहरुसँगको छलफलपछि समूहले आज ज्ञापनपत्र बुझाएको अध्यक्ष रघुबर साहले बताए ।

गहुँबालीको रोपाईको समय सकिन लाग्दा समेत मलको चरम अभावका कारण खेत बाँझै रहने स्थिती देखिएकोले आपूर्ति बढाउन र बिक्री वितरण प्रणाली पारदर्शी, व्यवस्थित र सहज बनाउन समूहले माँग गरेको छ । सरोकारवाला कार्यालय र डिलर रहेका सहकारी संस्थाहरुको वितरण प्रणाली अनुगमन गर्न र कालाबजारी गर्नेलाई कारवाही गर्न समेत समूहले माँग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले माँगभन्दा निकै कम मल आपूर्ति भएकाले अभाव सृजना भएको बताए । सप्तरीका लागि चाहिनेभन्दा एक चौथाई मल मात्र प्राप्त भएकाले थप मल ल्याउन पहल गरेको उनले बताए ।

निगरानी समूहले मलको आपूर्ति बढाउन, बिक्री वितरण पारदर्शी गर्न, वितरण प्रणालीको तथ्यांक व्यवस्थित राख्न, डिलर, सहकारीहरुको अनुमगन गर्न र समस्या समाधानको हरसम्भव उपाय खोज्न माग गरेको छ ।
साह नेतृत्वको टोलीले कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादव, कृषि सामाग्रीका निमित्त प्रमुख सोनेलाल मुर्मु, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक अविनारायण काफ्लेसँग समेत भेंट गरी प्राप्त मल वास्तविक किसानसम्म पु¥याउन आग्रह गरेको छ ।
कृषि सामाग्रीका प्रमुख मुर्मुले सप्तरीलाई तीन हजार मेट्रिक टन आवश्यक रहेकोमा ७८३.५ मेट्रिक टन डिएपी मल मात्र प्राप्त भएको जानकारी दिए । जसमध्ये ७६०.९ मेट्रिक टन सहकारी संस्थामार्फत बिक्री वितरण भइसकेको उनले बताए ।
जिल्ला आपूर्ति समितिको बुधबारको वैठकले सुचिकृत सहकारी÷डिलरलाई छुट्याएर बाँकी मौज्दात रहेको आठ सय बोरा मल राजविराजस्थित चारवटा सहकारीमार्फत प्रति किसान २५ किलोका दरले वितरण गर्ने निर्णय भएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए ।
सप्तरीका प्रहरी उपरिक्षक काफ्लेले मल गोदाममा राखी किसानलाई नदिने, कालाबजारी गर्ने, महँगोमा बिक्री गर्ने बारे सूचना दिन आग्रह गर्नुहुँदै त्यस्तालाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।

समूहको टोलीमा इन्सेक सदस्य बैद्यनाथ झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, समूहका कोषाध्यक्ष पुनम पोखरेल, सदस्यहरु राधा अर्याल, सीतादेवी यादव, पुनिता कर्ण र सहजकर्ता दिपक यादव रहेका थिए ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा काम गर्दै आएको समूहले किसानहरु सँग छुट्टै अन्तरक्रिया गरेर मलको अवस्थाबारे जानकारी लिएको छ । विभिन्न स्थानीय तहबाट मल खोज्दै सदरमुकाम आएका किसानहरु मल नपाएर चिन्तित र आक्रोशित भएको तिलाठी कोइलाडी गाउँपालिका–१ का एकनाथ यादवले बताए ।
छलफलमा किसानहरुले गहुँ रोपाईको समय सकिन लाग्दा समेत मल नपाएको बताए । अधिकांश किसानहरुले गाउँका डिलरहरुले पहुँच हुनेलाई मात्र मल दिने गरेको गुनासो गरे । एक बोरा डिएपी मलका लागि दिनभरी धाउँदा समेत खाली हात फर्किनु परेको भन्दै बिष्णुपुर गाउँपालिका–७ का तेजनारायण साहले डिलरहरुले मल लुकाएर मँहगोमा बेच्ने गरेको गुनासो गरे ।
मल नपाएर आक्रोशित बनेका किसानहरुले बुधबार तेतरीगाछी, जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन् । मलको प्रतिक्षामा दिनभरी उभिदासमेत मल नपाए पछि आक्रोशित किसानहरुले राजविराजमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page