समाज

सप्तरीमा घेदुङले ल्होछार पर्व सार्वजनिक रुपमा नमनाउने

बृजमान तामाङ
बिरेन्द्र बजार, ४ माघ ।
सप्तरीमा २८५८ औं सोनाम ताक ल्होछार पर्वको अवसरमा सार्वजनिक कार्यक्रम नगर्ने भएको छ ।
नेपाल तामाङ घेदुङ्ग सप्तरीको आयोजाना सार्वजनिक रुपमा विगत बर्षहरुमा मनाउदै आएको ल्होछार पर्व कोरोना महामारीको जोखिमका कारण यस वर्ष स्थगित गरिएको हो ।
नेपाल तामाङ घेदुङ सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ चाँदानी चौकमा मंगलबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेकाले ल्होछार पर्वमा सार्वजनिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको जनाएको छ । नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेले यस अघि सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरमा २८५८ औं सोनाम ल्होछार महोत्सव मनाउने तयारी गरिएता पनि कोरोनाका कारण स्थगित गरिएको बताए ।
बैठकले जिल्लामा रहेको मातहतका स्थानीय तह र वडाहरुमा समेत ल्होछारमा सार्वजनिक कार्यक्रम आयोजना गर्न नगाउन निर्देशन दिने समेत निर्यय भएको उनले जानकारी दिए । उनका अनुसार घर-घरमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि ल्होछार मनाउने कार्यक्रमलाई भने निरन्तरता दिईने छ ।
तामाङ समुदायको प्रमुख साँस्कृतिक पर्व २८५८ औ ताक सोनाम ल्होछार माघ १९ गते परेको छ । तामाङ समुदायले मान्यजनको हातबाट टिक ग्रहण गरि पाँच दिनसम्म ल्होछार मान्ने परम्परा रहेको छ । यसको साथै महोत्सव,साँस्कृतिक सहितका विभिन्न सार्वजनिक कार्यक्रमहरुको आयोजाना गरि ल्होछार मनाउने गरेता पनि कोरोनाले ल्होछार पर्वलाई प्रभावित पारेको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page